लोकसेवाको शाख जोगाउने सन्तबहादुर रहेनन्

author-image

सुरेन्द्र काफ्ले
समाज

  http://annapurnapost.com/news/ बाट २३ भदौ २०७६ २२:०२:००

काठमाडौं : लोकसेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको निधन भएको छ। सोमबार बिहान एक बजेर ४० मिनेटमा पाटन अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो।

लोकसेवाको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएका ८४ वर्षीय राई अल्जाइमर (बिर्सिने) रोगबाट ग्रसित थिए। लोकसेवा आयोगको सदस्य हुँदै अध्यक्ष भएका राई हक्की स्वभावका व्यक्ति रहेको लोक सेवाका पूर्व सदस्य डा. गोविन्दप्रसाद कुसुमले जानकारी दिए।

२०४६ सालको प्रजातन्त्रको पुनर्स्थापनापछि उनी लोक सेवामा प्रवेश गरेका थिए। उनी २०४८ भदौ ७ गते लोकसेवा आयोगका सदस्य भए। २०५१ माघ १५ गते पहिलो पटक उनी आयोगका अध्यक्ष भएका थिए।

२०५४ भदौ ७ गते उनले लोकसेवा अध्यक्षमा पुर्ननियुक्ति पाएका थिए। उनी दुई कार्यकाल लोकसेवा आयोगको अध्यक्ष भएका थिए।

राई तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, आवास तथा भौतिक योजना मन्त्रालय, आपूर्ति मन्त्रालयका सचिव हुँदै लोकसेवा प्रवेश गरेका थिए। २०१७ सालमा सरकारी सेवामा अस्थायी नियुक्ति पाएर प्रवेश गरेका थिए।

२०१८ सालमा उनी स्थायी भएका थिए। पञ्चायत विकास केन्द्र, जाजरकोट, जिल्ला पञ्चायत तेह्रथुम, भक्तपुर हुँदै २०२६ साल मंसिर १५ गते पाँचथरको सिडिओ भएका थिए। प्रशासन व्यवस्था विभाग (रेखदेख दौडा) र स्थानीय विकास विभागका उपनिर्देशक भएका राई स्थानीय विकास विभागका महानिर्देशकसमेत भए।

पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अतिरिक्त सचिव र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सचिव हुँदै २०४१ सालमा उनी सचिव भएका थिए।

‘उहाँ कसैले भनेको नमान्ने, निडर, हक्की, लतपत नगर्ने व्यक्ति हुनुहुन्थ्यो’, कुशुमले भने,‘ उहाँले लोकसेवालाई कसैको प्रभावमा पर्न दिनु भएन।’ लोकसेवा आयोगको गरिमा कायम रहनुमा राईको योगदान महत्वपूर्ण रहेको लोक सेवाका पूर्वपदाधिकारी र पूर्वप्रशासक ठम्याइ छ।

प्रजातन्त्रको पुनर्स्थापनापछि लोकसेवालाई कमजोर बनाउने प्रयत्न नभएको होइन तर उनले लोकसेवाको साँख उच्च राख्न ठूलो सघर्ष गरेका थिए। ‘उहाँ सचिव हुँदा होस् वा लोक सेवामा हुँदा होस्, आफ्नो अडानमा यता उता कहिल्यै गर्नु भएन’, उनले भने।

१९९३ कात्तिक १९ गते संखुवासभाको खादबारी ४ स्यामदाङ पामा गाउँमा जन्मिएका राई परिवार हाल ललितपुर महानगरपालिका ४ जावलाखेलमा बस्दै आएको छ। पछिल्लो समयमा राई बृद्धाश्रममा बस्दै आएका थिए। राईका दुई छोरी छन्। उनको श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

राईको सोमबार आर्यघाटमा दाहसंस्कार भएको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए। सन्तबहादुर राईको प्रशासनिक यात्रा र भोगाइका बारेमा सन्तबहादुर राई प्रतिष्ठानले ‘सन्तबहादुर राई इतिवृत’ पुस्तक प्रकाशन गरेको छ।

उनले मिसिगन स्टेट विश्वविद्यालय, अमेरिकाबाट एमएस डिग्रीसम्म अध्यायन गरेका थिए। उनले गोरखा दक्षिण बाहु, शुभ राज्यभिषेक, गोरखा दक्षिण बाहु (चौंथो) र त्रिशक्तिपट्ट लगायतका विभूषण र सम्मान प्राप्त गरेका थिए।