संखुवासभाका शाक्य मनराम एसकाज पत्रकारिता पुरस्कारबाट सम्मानित

यस वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्यले प्राप्त गरेका छन् ।
प्रत्येक वर्ष मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्ना्लिष्ट एशोसिएसनले प्रदान गर्दै आएको पुरस्कार यस वर्ष शाक्यले प्राप्त गरेका हुन् । सोमबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले संयुक्तरुपमा पत्रकार शाक्यलाई हस्तान्तरण गरेका हुन् ।
संखुवासभाको रेडियो खाँदबारी एफएमका स्टेशन मेनेजर शाक्य मोफसलका सक्रिय पत्रकार हुन् । २०७३ साल देखि प्रत्येक वर्ष मनराम फाउण्डेशनसँगको सहकार्यमा मनराम–एसकाज पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।
यसअघि संखुवासभा जिल्लामा रहि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने क्रियाशिल पत्रकारहरु गंगा विष्ट, इन्द्र गिरी र दीपेन्द्र शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । २५ हजार रुपैया राशीको मनराम एसकाज पत्रकारिता पुरस्कार पाउने शाक्य चौथो पत्रकार हुन् ।

पत्रकारिताको क्षेत्रबाट संखुवासभा जिल्लाको समग्र विकासमा उल्लेख्य योगदान पु¥याएबापत शाक्यलाई सम्मान गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकारिता क्षेत्रमा काम गर्न सहज नभएपनि यस्ता पुरस्कारले हौसला प्रदान गर्ने बताउँदै पुरस्कृत पत्रकारलाई अझ जिम्मेवार भएर लाग्न आग्रह गरे । उनले भने–‘ पत्रकारले सूसुचित गराउने हो, दिग्भ्रमित बनाउने होइन, त्यसैले जिम्मेवार भएर सबैले कलम चलाउनुपर्छ ।’

सम्मानित पत्रकार शाक्यले मनराम एसकाज पत्रकारिता पुरस्कार पाउँदा आफ्नो कर्म प्रति गौरवको अनुभूति भएको भन्दै सम्मानले भोलिका दिनमा अझ राम्रो गर्दै जाने जिम्मेवारी थपिएको बताए ।

पुरस्कार वितरण कार्यक्रममा मनराम फाउण्डशनका महासचिव रामप्रसाद घिमिरे, एसकाजका संस्थापक अध्यक्ष दिपेन्द्र वान्तवा, एसकाजका महासचिव उद्वव भट्टराईले मनराम–एसकाज पत्रकारिता पुरस्कारका बारेमा बोलेका थिए । कार्यक्रममा निर्वाचन आयोगकी सचिव वेदमायाँ गुरागाई, कर्मचारी संचयकोषका प्रमुख प्रशासक तुलसी गौतम, संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

संभार :-मालपोत खबर jan28 2020 प्रकाशित मिति : मङ्ल, माघ १४, २०७६